१० चैत, काठमाडौं । एक वर्षअघिदेखि नयाँ व्यवस्थापनका साथ काठमाडौंमा ठूला बस गुडाउन थालेको साझा यातायातले चीनको ल्हास्सा र भारतको नयाँ दिल्लीसम्म सीधा बस सेवा सञ्चालन गर्ने परियोजना बनाएको छ । साझाले देश तथा विदेशबाट आर्थिक सहयोग पाएको अवस्थामा बस सेवालाई उपत्यका बाहिर १५ वटा सहरमा विस्तार गर्ने योजना बनाएको छ । साझा यातायातका कार्यकारी अधिकृत पदमलाल महर्जनले साझा आफैंले ठूलो लगानी गरेर सेवा विस्तार गर्न नसक्ने बताउँदै यदि कहीँबाट लगानी प्राप्त भएमा सेवा विस्तार गर्ने बताए ।
‘बन्द भइसकेको साझा यातायातलाई ब्यूँताएर पुनः सञ्चालमा ल्याएका छौं, अहिले उपत्यकामा मात्र हाम्रो सेवा छ’, महर्जनले भने, ‘सहयोगका लागि दातृनिकायको ध्यानाकर्षण गरिरहेका छौं, दातृनिकायले लगानी गर्न तयार भए भने अहिलेको सेवालाई दू्रत गतिमा विस्तार गर्ने हाम्रो योजना हो ।’ काठमाडौं बाहिर जाने तयारी साझाले काठमाडौं उपत्यकामामात्र रहेको सेवालाई विस्तार गर्दै देशभित्रका कम्तिमा पनि १५ वटा सहरमा डिलक्स बस सेवा सञ्चालन गर्ने योजना प्रस्तुत गरेको छ । सन् १९६१ मा स्थापना भएको साझा यातायात सहकारीले कुनै बेला देश तथा छिमेकी राष्ट्रमा १ सय ८० वटा सम्म बस सञ्चालनमा ल्याएको थियो । आफैंले लगानी गरेर सेवा विस्तार गर्न नसकिने अवस्था रहेको जनाउँदै साझाले सहयोगका लागि विभिन्न फोरममा ध्यानाकर्षण गराउँदै आएको छ । ‘देशको प्रतिष्ठित संस्थालाई पुनः जीवन दिएर अघि बढेका छौं, आफैंले लगानी गरेर सेवा विस्तार गर्ने अवस्था नभएको सहयोग जुटाउने प्रयास सफल भएमा सेवा विस्तार गर्न कुनै कठिनाइ छैन ।
’ कार्यकारी अधिकृत महर्जनले भने । केही वर्ष बन्द भएर पुनः सञ्चालमा आएको साझाले नयाँ व्यवस्थापनमा अप्रिल २०१३ बाट काठमाडौं उपत्यकाभित्र १६ वटा हरियो रंगका ठूला बस सञ्चालनमा ल्याएको छ । साझाले अहिले कलंकीबाट त्रिभुवन विमानस्थल र लगनखेलबाट नयाँ बसपार्कसम्म दुईवटा रुटमा १६ वटा बसबाट यात्रुलाई सेवा दिइरहेको छ । ‘ल्हासा र दिल्ली’ को तयारी साझाले तीन चरणको परियोजना सार्वजनिक गर्दै जनवरी २०१६ सम्ममा काठमाडौंबाट भारतको राजधानी नयाँ दिल्ली र चीनको ल्हास्सासम्म सीधा बस सेवा सञ्चालन गर्ने जनाएको छ । पुरानो व्यवस्थापनले सञ्चालन गर्दा बन्द हुनुअघिसम्म ल्हासा र दिल्लीमा समेत सीधा बस सेवा चलाइएको थियो ।
‘पहिले पनि ल्हासा र दिल्लीसम्म साझाको लोगोमा बस गुडेका थिए, त्यो सेवालाई अहिले पनि निरन्तरता दिने कोशिसमा जुटेका छौं’, महर्जनले भने, ‘वैदेशिक लगानी आएको खण्डमा काठमाडौं बाहिरका १५ वटा सहरमा पनि बस सेवा विस्तारको सोच छ, त्यसका लागि दातृनिकायको ध्यानाकर्षण गराउने क्रम जारी छ ।’ साझा बसको यो योजना उद्योग वाणिज्य महासंघले अघि सारेका ५३ लगानी परियोजनाभित्र समेटिएको छ ।
No comments:
Post a Comment